भोजपुरका विद्यालयमा अभ्यासमूलक कृषि शिक्षा

भोजपुरका सामुदायिक विद्यालयहरूले विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सीप दिन थालेका छन्। राज्यको नीतिअनुसार प्राविधिक विषयलाई पाठ्यक्रममा समेटिएको छ भने त्यसअनुसार कृषिलगायतका विषयमा अभ्यासमूलक शिक्षण सुरु भएको हो।

भोजपुर नगरपालिका–१२ टक्सारको यशोधरा माध्यमिक विद्यालयले भाडामा जग्गा लिएर विद्यार्थीलाई खेतमै गएर सिक्ने प्रणाली अपनाएको छ। कक्षा ९ देखि १२ सम्म कृषि बाली विज्ञान अध्ययन गरिरहेका विद्यार्थीलाई १५ रोपनी लिजमा लिएको जमिनमा प्रत्यक्ष प्रयोगमार्फत आधुनिक खेतीपाती र प्रविधिमैत्री प्रणालीबारे ज्ञान दिइँदै आएको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिए।

उनका अनुसार विद्यार्थीलाई केवल सैद्धान्तिक पढाइमा सीमित नराखी भविष्यमा उद्यमशील बन्न सक्ने व्यावहारिक सीप दिन चाहिएकाले यस्तो अभ्यास गरिएको हो। रेग्मीले अहिलेको आवश्यकता प्राविधिक र व्यवहारमुखी शिक्षाको भएको उल्लेख गर्दै, अध्ययनपछि विद्यार्थी कुनै न कुनै कृषि व्यवसायमा लाग्न सकून् भन्ने उद्देश्य रहेको बताए।

विद्यालयका बाली विज्ञान प्रशिक्षक सुलोचना गिरीका अनुसार कृषिअन्तर्गत प्राविधिक अध्ययन गर्न चाहनेले कक्षा ९ बाटै प्रवेश लिनुपर्ने हुन्छ। कक्षा ९ देखि १२ सम्म विद्यार्थीले १६ वटा विषय पढ्ने गरेका छन्।

प्रधानाध्यापक रेग्मीले विगतमा सञ्चालित ‘पढ्दै कमाउँदै’ कार्यक्रम विद्यार्थीका लागि धेरै उपयोगी भएको तर अहिले त्यो कार्यक्रम बन्द हुँदा असर परेको बताए। यस्ता कार्यक्रमलाई पुनः निरन्तरता दिनुपर्ने उनको धारणा छ।

By कृषि पाटी

अरू पढ्नुहोस्