महोत्तरी, १ भदौ । साउनको अन्तिम सातादेखि लगातार परेको वर्षाले महोत्तरीका किसानलाई राहत मिलेको छ । वर्षाको सहायतासँगै जिल्लामा धान रोपाइँ करिब ७५ प्रतिशत पुगेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।
साउन दोस्रो सातासम्म रोपाइँ ३० प्रतिशतमै सीमित भए पनि तेस्रो सातामा ४५ प्रतिशत पुगेको थियो भने महिनाको अन्त्यसम्म आइपुग्दा ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।
कार्यालयका सूचना अधिकारी तथा बालीविज्ञ अविरलकुमार महतोका अनुसार, “साउनको अन्तिम साताको वर्षाले पहिलेभन्दा सहज बनायो, भूमिगत जलस्रोत प्रयोग गर्ने किसानलाई पनि राहत मिल्यो र रोपाइँको गति चाँडो बढ्यो ।”
मधेशका अन्य जिल्लाभन्दा ढिला सुरु भएको महोत्तरीको रोपाइँ इनार, डिपबोरिङ र स्यालो ट्युबवेलबाट तानेको पानीमा निर्भर थियो । तर, साउनको अन्त्यतिर लगातार वर्षा भएपछि किसानले उत्साहका साथ धमाधम रोपाइँ सके ।
भङ्गाहा–५ सिद्धपुरका किसान शनिश्चर बाँतर भन्छन्, “पहिले एक कठ्ठा हिल्याउन तीन घण्टा पम्प चलाउनुपर्थ्यो, तर वर्षा भएपछि काम सजिलो भयो । बस्तीमा रोपाइँ लगभग पूरा भइसकेको छ, सबै किसान खुसी छन् ।”
त्यसैगरी रामनारायण झाले भने, “धेरै मेहनत गरेर रोपाइँ गरियो, अहिले भने धान भित्रिने आशा पलाएको छ ।”
जिल्लाको उत्तरी, पूर्वी र मध्यक्षेत्रमा रोपाइँ सन्तोषजनक भए पनि दक्षिणपश्चिमी क्षेत्रमा भने अझै पनि पानीको कमी रहेको किसानको गुनासो छ । मनराशीशवा नगरपालिकाका चन्द्रभूषण मौव्वार भन्छन्, “हामीकहाँ पानी नपुग्दा रोपाइँ पछि पर्यो, अब धान रोप्ने समय सकिन लाग्यो, सरकारले वैकल्पिक बालीमा सहयोग गर्नुपर्छ ।”
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा हालसम्म करिब ३३ हजार ३५० हेक्टरमा धान रोपाइँ भइसकेको छ, जुन कुल ४५ हजार हेक्टर खेतीयोग्य क्षेत्रफलको करिब ७५ प्रतिशत हो ।
