काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष देशभर करिब ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। भदौ १ गतेसम्म संकलित तथ्याङ्कअनुसार कुल १३ लाख ७६ हजार ४६६ हेक्टरमध्ये १२ लाख ९५ हजार ८८७ हेक्टरमा धान रोपाइँ भइसकेको छ।
प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम प्रदेश अग्रस्थानमा रहेको छ। त्यहाँ १ लाख ७६ हजार १५१ हेक्टरमध्ये १ लाख ७५ हजार ६५२ हेक्टरमा रोपाइँ भइसकेको छ, जसको प्रतिशत ९९.७२ पर्छ। त्यसैगरी कर्णालीमा ९९.३४ प्रतिशत, लुम्बिनीमा ९८.०७ प्रतिशत र बागमतीमा ९७.२७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
गण्डकीमा ९४.८३ प्रतिशत, कोशीमा ९४.४२ प्रतिशत र मधेश प्रदेशमा भने सबैभन्दा कम ८६.३५ प्रतिशत धान रोपाइँ भएको देखिएको छ। गत वर्ष यस्तै समयमा कुल ९८.४४ प्रतिशत रोपाइँ सकिएको थियो।
विशेषगरी लामो समयसम्म परेको खडेरीका कारण मधेश प्रदेशमा धान रोपाइँ ढिलो भएको कृषि अधिकारीहरूले बताएका छन्। तर पछिल्ला दिनमा वर्षा नियमित भएपछि रोपाइँ तीव्र बनेको र बाँकी क्षेत्र पनि चाँडै पूरा हुने अपेक्षा गरिएको छ।
