यस वर्ष ८० हजार हेक्टर खेत बाँझै, धान उत्पादन घट्ने अनुमान

काठमाडौँ । यस वर्ष मुलुकभर करिब ८० हजार हेक्टर खेतीयोग्य जमिन बाँझै रहने देखिएको छ।

बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका अनुसार मुलुकभर १३ लाख ७६ हजार ४७७ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये हालसम्म १२ लाख ९५ हजार ८८७ हेक्टरमा मात्र रोपाइँ भएको छ। यसरी भदौ लाग्दा ८० हजार ५७९ हेक्टरभन्दा बढी जमिन बाँझै रहेकाले यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ।

आइतबारसम्म मुलुकभर ९४.१५ प्रतिशत धान रोपाइँ भएको छ भने गत वर्ष सोही समयमा यो प्रतिशत ९८.४४ रहेको थियो। यस वर्ष सबैभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको छ, जहाँ ८६.३५ प्रतिशत अर्थात् तीन लाख १९ हजार ६२६ हेक्टरमा मात्रै रोपाइँ भएको छ। गत वर्ष सो अवधिमा मधेशमा ९७ प्रतिशत धान रोपाइँ भएको थियो। समयमा पानी नपर्नु, सुक्खा र खडेरी यस प्रदेशमा रोपाइँ कम हुनुको कारण बनेका छन्।

अन्य प्रदेशको अवस्था हेर्दा कोशीमा ९४.४२ प्रतिशत (२ लाख ६० हजार ९६४ हेक्टर), बागमतीमा ९७.२७ प्रतिशत (१ लाख १२ हजार ४५९ हेक्टर), गण्डकीमा ९४.८३ प्रतिशत (८३ हजार ३११ हेक्टर) मा रोपाइँ भएको छ।

लुम्बिनीमा ९८ प्रतिशत (२ लाख ९७ हजार १०३ हेक्टर), कर्णालीमा ९९.३४ प्रतिशत र सुदूरपश्चिममा ९९.७२ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ।

By कृषि पाटी

अरू पढ्नुहोस्