सिरहामा सामुदायिक सहभागितामा वृक्षरोपण अभियान

सिरहा, भदौ २ । लहान–१५ को झोवाई खोल्सी सामुदायिक वनमा स्थानीयको सक्रिय सहभागितामा वृक्षरोपण अभियान सुरु भएको छ। वातावरणीय संरक्षण र चुरे क्षेत्रलाई हरियाली बनाउने उद्देश्यसहित सुरु गरिएको अभियानमा खाली जमिनमा नयाँ बिरुवा रोप्ने र पुराना बिरुवाको संरक्षण गर्ने काम भइरहेको छ।

डिभिजन वन कार्यालय सिरहाको प्राविधिक सहयोगमा उपभोक्ता समितिले टिक, जामुन, खयर, पाँचपाते, अमला लगायतका हजारौं बिरुवा रोपेका छन्। सामुदायिक वनको २७७ हेक्टरमध्ये ४.५ प्रतिशत क्षेत्रमा पहिले रोपिएका बिरुवाको समेत गोडमेल भइरहेको समितिका अध्यक्ष लगनलाल चौधरीले बताए।

यस क्रममा, कञ्चनपुर–कमला सडक विस्तारका कारण मासिएका रूखको क्षतिपूर्तिस्वरूप चाइना रेलवे कम्पनीले मात्र करिब ३८ हजार बिरुवा लगाएको छ। नियमअनुसार एउटा रूख मासिँदा २५ वटा बिरुवा रोप्नुपर्ने व्यवस्था छ।

डिभिजन वन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा मात्रै करिब १० लाख बिरुवा रोपिएको छ। यसलाई चुरे संरक्षणतर्फको महत्वपूर्ण र ऐतिहासिक कदमका रूपमा लिइएको छ।

By कृषि पाटी

अरू पढ्नुहोस्