झापा, भदौ २ – पूर्वी पहाडमा ‘खोल्साको सुन’ भनेर चिनिने नगदे बाली अलैँचीले यो वर्ष सुरुको सिजनमै ऐतिहासिक मूल्य पाएको छ।
नेपालको प्रमुख अलैँची बजार बिर्तामोडमा सोमबार प्रतिमन (४० किलो) अलैँची रु. ९४ हजारमा किनबेच भएको छ। नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी निर्देशक अनिल ढुङ्गानाका अनुसार, गत वर्ष यही समयमा मूल्य प्रतिमन रु. ४० हजार हाराहारीमै सीमित थियो।
गत सात वर्षयता यतिसम्मको उच्च मूल्य नदेखिएको व्यवसायीहरूको भनाइ छ। विसं २०७५ मा एकपटक प्रतिमन रु. एक लाख पाँच हजार पुगेको थियो र त्यही वर्षको मङ्सिरमा रु. एक लाख सात हजारमा कारोबार भएको थियो। तर, सर्वाधिक मूल्य भने विसं २०६७ मा प्रतिमन रु. एक लाख २० हजार पुगेको इतिहास छ। त्यसयता अलैँचीले सो भन्दा बढी मूल्य पाउन सकेको छैन।
व्यवसायीहरू भदौ–असोजतिर मूल्य बढ्दा मङ्सिर–पुसमा अझै वृद्धि हुने आशा गर्छन्। यसपटक पनि त्यस्तै संकेत देखिएको उनीहरूको दाबी छ।
किसानका लागि यो मूल्य प्रत्यक्ष फाइदाजनक बनेको छ। तत्काल बिक्री गर्ने किसानले राम्रो आम्दानी हात पारिरहेका छन् भने व्यापारीहरूले भण्डारण गरेर भविष्यमा अझै बढी मुनाफा कमाउने अपेक्षा राखेका छन्।
