तनहुँको व्यास नगरपालिकाले सरसफाइमै खर्च गर्ने पुरानो शैली तोड्दै फोहरलाई आम्दानीको स्रोतमा बदल्ने नयाँ अभ्यास थालेको छ । यो मोडेल सुरु भएको ११ महिनामै नगरपालिकाले रु १५ लाख ३२ हजार ८३७ आम्दानी गरेको छ ।
नगरपालिकाले नकुहिने फोहरलाई सूक्ष्म रूपमा वर्गीकरण गरेर बिक्री गर्ने कामलाई प्राथमिकतामा राखेको छ । प्लास्टिक, फलाम, कपडा र सिसाजन्य सामग्री संकलन गरेर बेलिङ मेसिनमार्फत ठूलो आकारलाई दाबेर सानो आकारमा परिणत गरी भण्डारणपछि बजारमा पठाइन्छ । प्रमुख प्रशासकीय अधिकृत काशिराम गैरेका अनुसार यसरी व्यवस्थित भएपछि फोहर बिक्रीमा सहज भएको छ ।
बिक्रीका दर पनि तोकिएका छन् । हाल आल्मुनियम (रेडबुललगायत) प्रतिकेजी ६०, फलाम ३५, टिन २५, पानीको बोतल २३, कपडा ५ रुपैयाँ ५० पैसा, कपी १६ र किताब १४ रुपैयाँमा बिक्री भइरहेको छ ।
यसअघि वडा नं ३ भतेरीमा फोहर व्यवस्थापन हुँदै आएको भए पनि सम्झौता अवधि सकिएपछि हाल नगरपालिकाको आफ्नै परिसरबाट व्यवस्थापन गरिएको हो । हाल दैनिक करिब १५ टन नकुहिने र सात टन कुहिने फोहर संकलन भइरहेको छ । कुहिने फोहर व्यास–१० स्थित गौ संरक्षण केन्द्र भतेरीमा व्यवस्थापन भइरहेको छ ।
नकुहिने फोहरको दीगो व्यवस्थापनका लागि वडा नं १३ मा जग्गा खरिद प्रक्रिया अघि बढाइएको थियो तर स्थानीय विरोधका कारण तत्कालका लागि रोकिएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेका अनुसार, सरसफाइ क्षेत्रमा निरन्तर खर्च गर्दै आएको व्यास नगरपालिकाले अब फोहरलाई आम्दानीको माध्यम बनाउने दिशातर्फ कदम बढाएको छ ।
