ताप्लेजुङमा यस वर्ष करिब ८० प्रतिशत मात्र रोपाइँ

ताप्लेजुङ । पर्याप्त वर्षा नहुँदा यस वर्ष ताप्लेजुङमा करिब ८० प्रतिशत धानको रोपाइँ मात्र सम्पन्न भएको छ ।

हिमाली जिल्ला ताप्लेजुङमा प्रायः जेठ महिनाको दोस्रो सातादेखि नै रोपाइँ सुरु हुन्छ । तर, यो वर्ष समयमा पर्याप्त पानी नपरेकाले धानखेती हुने सम्पूर्ण जमिनमा रोपाइँ गर्न सकिएन । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार साउन मसान्तसम्ममा जम्मा ७९.७८ प्रतिशत मात्र रोपाइँ भएको छ । रोपाइँको उपयुक्त समय सकिएकाले यो वर्षको धान रोपाइँ पनि लगभग सकिएको मानिएको छ ।

भदौयता रोपिएको धानमा राम्रो उत्पादन नहुने भएकाले किसानहरू प्रायः साउन मसान्तभित्रै रोपाइँ सम्पन्न गर्ने गर्छन् । यद्यपि केही किसानले भदौमा पनि रोपाइँ गर्ने सम्भावना रहेको कृषि प्रसार अधिकृत विजय श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष सोही समयमा ९८.५० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

कृषि ज्ञान केन्द्रका अनुसार, यदि समयमा पर्याप्त वर्षा भएको भए साउनको तेस्रो सातासम्ममा नै सम्पूर्ण रोपाइँ सकिने थियो । तर, जिल्लाका अधिकांश खेतीयोग्य जमिन आकाशे पानीमा निर्भर भएकाले वर्षा ढिलाइ हुँदा रोपाइँ प्रभावित भएको हो । सिँचाइको सुविधा उपलब्ध क्षेत्रमा भने समयमा नै रोपाइँ सम्पन्न भएको कृषि प्रसार अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

By कृषि पाटी

अरू पढ्नुहोस्