बागलुङ, भदौ ४ । गण्डकी प्रदेशमा यस वर्ष कुल क्षेत्रफलको झण्डै ९३ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव वासुदेव रेग्मीका अनुसार ८७ हजार ८०९ हेक्टर खेतमा रोपाइँ भएको हो।
यस वर्ष मन्त्रालयले ९४ हजार १८२ हेक्टरमा रोपाइँ हुने अनुमान गरेको थियो। तर, बसाइँसराइ, वन्यजन्तुको आक्रमण र प्रतिकूल मौसमका कारण बाली लगाउने क्षेत्रफल घट्दै गएको रेग्मीको भनाइ छ। गत वर्ष ९६ हजार हेक्टरभन्दा बढीमा रोपाइँ भएको थियो।
प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी रोपाइँ कास्की (९९.५७%) र स्याङ्जा (९९.३१%) मा भएको छ। यता, सबैभन्दा कम नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा ८२.७० प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ।
