तनहुँको बन्दीपुर गाउँपालिकाबाट दूध उत्पादनमा ३५ लाखको अनुदान

दमौली, भदौ ५ । तनहुँको बन्दीपुर गाउँपालिकाले दूध उत्पादक कृषकलाई प्रोत्साहन दिन रु. ३५ लाख बराबरको बजेट छुट्याएको छ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि तोकिएको यो रकम सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई अनुदानका रूपमा वितरण गरिनेछ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार सहकारीलाई दूध बेच्ने किसानले प्रति लिटर रु. २ का दरले अनुदान पाउने व्यवस्था गरिएको छ। उहाँले भन्नुभयो, “यसले किसानलाई पशुपालनतर्फ आकर्षित गर्नुका साथै गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउन टेवा पुग्नेछ।”

बन्दीपुर–१ को सूर्योदय दुग्ध सहकारी र बन्दीपुर–५ को याम्पा दुग्ध सहकारीमा आवद्ध किसानले हालसम्म उत्पादनका आधारमा अनुदान पाउँदै आएका छन्।

दूधबाहेक गाउँपालिकाले मौरीपालन, मुसुरो, तोरीखेती, च्याउखेती, मकैबाली, व्यावसायिक फलफूलखेती र बीउबिजन वितरण कार्यक्रमका लागि समेत बजेट छुट्याएको छ। यससँगै हाटबजार व्यवस्थापन र सञ्चालनका लागि रु. ९ लाख विनियोजन गरिएको छ।

त्यस्तै, गाउँपालिकाभित्र धर्म, संस्कृति, भेषभूषा, कला र साहित्यको संरक्षण तथा प्रवर्धनका लागि छुट्टै रकम छुट्याइएको छ। नयाँ पर्यटकीय गन्तव्यको पहिचान र महत्वपूर्ण स्थलहरूको प्रवर्धनका लागि पनि बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिनुभयो।

By कृषि पाटी

अरू पढ्नुहोस्