काठमाडौं। नेपालमा कृषि व्यवसाय र साना–मझौला उद्यमलाई अघि बढाउने उद्देश्यले नयाँ सहकार्यको ढोका खुलेको छ । कृषि, जडिबुटी तथा बन समिति चेम्बर अफ कमर्स र दक्षिण कोरियाको ब्रिज इन्टरनेशनलबीच शुक्रबार सम्झौता भएको हो ।
सम्झौतामा समितिका सभापति कृष्णमान श्रेष्ठ र ब्रिज इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत जीनसोल वाङले हस्ताक्षर गरेका छन् । अब दुवै संस्था मिलेर नेपालमा कृषि व्यवसायको सम्भावना खोज्ने, उद्यमशील युवालाई आवश्यक सीप र जानकारी दिने र व्यवसायिक अवसर विस्तार गर्ने काम गर्नेछन् ।
ब्रिज इन्टरनेशनलले नेपाली स्टार्टअप र नवप्रर्वद्धन व्यवसायलाई केन्द्रदेखि स्थानीय तहसम्म प्राविधिक सहयोग गर्ने जनाएको छ । साथै, नेपाल–कोरिया बीच स्टार्टअप प्रदर्शनी, नेटवर्किङ, मेन्टरसिप र सीप आदान–प्रदानमार्फत उद्यमशीलतालाई बल पुर्याउने सहमति भएको छ ।
यो सम्झौताले विदेशबाट सीप सिकेर फर्केका युवालाई व्यवसायिक सञ्जालमा जोड्ने र उनीहरूको उद्यमशीलता क्षमता बढाउने अवसर दिने चेम्बरले विश्वास लिएको छ । दीर्घकालीन रुपमा भने, यस सहकार्यले कृषि, जडिबुटी, बन र उद्यम विकासलाई प्राथमिकतामा राख्दै दुवै देशबीचको आर्थिक साझेदारीलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।
