काठमाडौँ । मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानमै रहेकाले हाल देशभर मनसुनी गतिविधि सक्रिय बनेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोदेखि रातिसम्म विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ।
महाशाखाले जनाएको अनुसार दिउँसो देशभर मौसम साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका अधिकांश पहाडी भू-भागमा मध्यम वर्षा पर्न सक्ने देखिएको छ। यस्तै, तराईका केही स्थानमा समेत वर्षा हुने पूर्वानुमान गरिएको छ।
विशेषगरी, कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका तराई र पहाडी दुवै क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
आज राति देशका पहाडी भू-भागमा सामान्यतया बदली रहने र केही स्थानमा मध्यम वर्षा पर्ने सम्भावना छ भने तराईका थोरै क्षेत्रमा पनि वर्षा हुन सक्ने देखिएको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा समेत हुनसक्ने महाशाखाले उल्लेख गरेको छ।
