काठमाडौँ । आगामी मंसिर १२ देखि १४ गतेसम्म राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा छैठौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी आयोजना हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को संयुक्त आयोजनामा हुने प्रदर्शनी ‘कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ सञ्चालन हुने जनाइएको छ।
आयोजकका अनुसार करिब २० देशका १५० भन्दा बढी प्रदर्शकहरूले २०० भन्दा बढी स्टलमार्फत २ हजारभन्दा बढी प्रकारका आधुनिक कृषि औजार, उपकरण, यन्त्र तथा प्रविधिहरू प्रदर्शन गर्नेछन्। प्रदर्शनी अवलोकनका लागि प्रवेश निःशुल्क रहनेछ।
नेपालमा कृषि यान्त्रिकरण प्रवर्द्धन गर्ने उद्देश्यले विसं २०७० सालमा चितवनबाट सुरु भएको यो प्रदर्शनी हालसम्म पाँच पटक राष्ट्रिय, एक पटक प्रादेशिक र एक पटक अन्तर्राष्ट्रिय एग्रीटेक स्वरूपमा सम्पन्न भइसकेको छ। यस वर्ष पनि आधुनिक कृषि, पशुपन्छी पालन, मत्स्यपालन, पुष्प तथा तरकारी खेती, सिँचाइ, पोष्ट–हार्भेष्ट, प्रशोधन र बजारीकरणसँग सम्बन्धित नवीनतम उपकरण तथा प्रविधि प्रस्तुत गरिनेछ। साथै बीउबिजनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादक तथा विक्रेताहरूको पनि सहभागिता रहनेछ।
आयोजकले प्रदर्शनीले कृषकलाई आधुनिक प्रविधिबारे जानकारी दिने, कृषि प्रणालीको आधुनिकीकरण तथा व्यवसायीकरणलाई टेवा पुर्याउने र नीति निर्माता, अनुसन्धानकर्ता, व्यवसायी तथा कृषकबीच सहकार्यको वातावरण सृजना गर्ने अपेक्षा राखेका छन्। सहकारी संस्था, बैंक तथा वित्तीय संस्थामाझ पनि समन्वय बढ्ने विश्वास गरिएको छ।
