प्रतिनिधिसभामा मल अभाव समाधानका लागि दीर्घकालीन नीति बनाउन माग

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विभिन्न सांसदहरूले किसानलाई आवश्यक पर्ने मल अभावका कारण कृषि उत्पादनमा नकारात्मक असर परिरहेको भन्दै यस समस्याको दीर्घकालीन समाधानका लागि सरकारलाई पहल गर्न आग्रह गरेका छन् ।

शून्य समयमा बोल्दै सांसद अमरबहादुर रायमाझीले नेपालमा करिब ६२ प्रतिशत जनसङ्ख्या कृषि पेसामा निर्भर रहेको भन्दै मल आपूर्ति व्यवस्थित नहुँदा किसान निराश भएको बताए । उनले भने, “कृषि मुलुकको मेरुदण्ड हो । रासायनिक मल उत्पादन वृद्धि गर्ने महत्वपूर्ण तत्व भएकाले यसको स्थायी आपूर्ति सुनिश्चित गर्न सरकारले आवश्यक नीतिगत व्यवस्था गर्नुपर्छ ।”

सांसद अमरा देवीले मधेसलाई सरकारले सुक्खा क्षेत्र घोषणा गरेको सन्दर्भमा त्यहाँका किसानका लागि मल र सिँचाइ सुविधाको तत्काल व्यवस्था गर्न माग गरिन् । यस्तै, सांसद अमृतादेवी अग्रहरीले ट्राफिक प्रहरीले जनतालाई अनावश्यक दुःख दिएको आरोप लगाउँदै गृह मन्त्रालयको ध्यानाकर्षण गराइन् ।

सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमितता सम्बन्धी सार्वजनिक लेखा समितिको प्रतिवेदन कार्यान्वयन नगरेको विषय उठाए । उनले भने, “संसदीय समितिको प्रतिवेदन उपेक्षा गर्नु संसदीय मर्यादामाथि प्रश्न उठाउने कुरा हो । तत्काल यसको कार्यान्वयन हुनुपर्छ ।”

सांसद आस्माकुमारी चौधरीले भूमिहीन तथा सुकुम्वासी समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याउँदै सम्बन्धित विधेयकलाई शीघ्र पारित गर्न माग गरिन् । उनले गुठी पीडितको समस्या समाधानमा पनि सरकार गम्भीर हुनुपर्ने बताइन् ।

By कृषि पाटी

अरू पढ्नुहोस्