लमजुङमा धमाधम कोदो रोपाइँ

लमजुङ, भदौ ६ । धान रोपाइँ सकेपछि लमजुङका किसान अहिले कोदो रोपाइँमा तल्लीन छन् । पहाडी जिल्लाका बारी–पाखामा किसानहरू बिहान बेलुकी नभनी रोपाइँको चटारोमा छन्।

दोर्दी गाउँपालिका–८ खिन्चोककी मैती घले बारीमा कोदो रोप्दै व्यस्त थिइन्। “मकै थन्काउनासाथ ब्याडमा उम्रिएको कोदो रोप्नैपर्ने भयो, अहिले त भ्याइनभ्याइ छ,” उनले भनिन्। तर, खेतीपाती गर्ने बेला खेताला नपाइने समस्या परेको उनले गुनासो गरिन्।

त्यस्तै, सोही गाउँकी दिलकुमारी घलेले आफ्नो बारीमा रोपाइँ सकेपछि गाउँघरमा हुने मेलामा काम गर्न थालेकी छन्।

बेँसीसहर नगरपालिका–११ चिती बानियापधेराकी कृष्णकुमारी गुरुङले पनि मकै थन्काएपछि बारीमा कोदो रोपाइँ सुरु गरिसकेकी छन्।

By कृषि पाटी

अरू पढ्नुहोस्