आजबाट उखु किसानको आन्दोलन काठमाडौँ केन्द्रित

पश्चिम नवलपरासी । सरकारले उखु किसानलाई दिँदै आएको अनुदान रकम कटौती गरेपछि देशभरका किसान आजदेखि काठमाडौँमा केन्द्रित आन्दोलनमा उत्रिएका छन्।

नेपाल उखु उत्पादक महासंघ, लुम्बिनी प्रदेश समितिका संयोजक उमेशचन्द्र यादवले आफ्ना माग सम्बोधन नभएसम्म काठमाडौँको माइतीघर मण्डलामा निरन्तर धर्ना र विरोध कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो।

अनुदान निरन्तरताको मागसहित १३ जिल्लाका अगुवा किसानहरू माइतीघरमा भेला भई विरोध कार्यक्रम गर्ने महासंघको योजना छ।

चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले उखुको अनुदानका लागि रकम विनियोजन नगरेकोमा किसानहरूले गम्भीर आपत्ति जनाएका छन्। महासंघका अनुसार किसानहरूको करिब १ अर्ब ६० करोड रुपैयाँ अनुदान रकम अझै भुक्तानी हुन बाँकी छ।

गत वर्ष उखुको प्रतिक्विन्टल मूल्य ६५५ रुपैयाँ तोकिएको थियो। यसमध्ये चिनी उद्योगले ५८५ रुपैयाँ र सरकारले ७० रुपैयाँ अनुदान दिने व्यवस्था गरेको थियो। तर, सरकारले बजेट अभाव देखाउँदै अनुदान घटाएर प्रतिक्विन्टल ३५ रुपैयाँमा सीमित गरेको छ। किसानहरूले यो निर्णय अस्वीकार गर्दै पुरानै ७० रुपैयाँ कायम गर्न माग गरिरहेका छन्।

आन्दोलनरत किसानहरूले सरकारले तत्काल बक्यौता भुक्तानी गर्न र अनुदान निरन्तरता सुनिश्चित नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

By कृषि पाटी

अरू पढ्नुहोस्