सलगम (गान्टे मुला)को खेती कसरी गर्ने ?

काठमाडौं । सलगम (गान्टे मुला) चिसो मौसममा फस्टाउने महत्त्वपूर्ण तरकारी बाली हो । यसको पात र गानो दुवै खाने चलन छ । पोषणका हिसाबले सलगममा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ‘सी’ र खनिज तत्व प्रशस्त पाइन्छ ।

विशेषगरी ५ देखि २० डिग्री सेन्टिग्रेड तापक्रममा यसको उत्पादन राम्रो हुन्छ । तापक्रम बढी भए जराको विकास कमजोर भई उत्पादनमा कमी आउँछ । नेपालमा पर्पल टप ह्वाईट ग्लोब, भक्तपुर लोकल र काठमाण्डौ रातो जात प्रचलित छन् । यसका सेता र रातो दुवै प्रकारका गानो बजारमा पाइन्छन् ।

खेतीका लागि हल्का दोमट र जैविक पदार्थयुक्त माटो उपयुक्त मानिन्छ । जरे तरकारी भएकाले जमिन राम्ररी खनजोत गरी वुरवुराउँदो बनाउनुपर्छ । प्रति रोपनीमा झण्डै १ मे.टन गोवरमल, ५ के.जी. यूरिया, ४ के.जी. डि.ए.पी. र ४ के.जी. म्यूरेट अफ पोटास हाल्दा राम्रो उत्पादन लिन सकिन्छ ।

बीउ छरेको करिब ६०–७० दिनमा सलगम तयार हुन्छ । पर्पल टप ह्वाईट ग्लोब जातबाट १ देखि १.५ मे.टन र काठमाण्डौ रातोबाट ८००–१००० के.जी.सम्म उत्पादन हुने देखिन्छ । सलगमलाई समयमै उखेलेर बजारमा पुर्याउँदा राम्रो मूल्य पाइन्छ । उखेल्दा गानोमा घाउ नलाग्ने गरी सफा गरेर कलिला पात मात्र राखी प्याकिङ्ग गर्नुपर्छ ।

भण्डारणका दृष्टिले सामान्य चिसो कोठामा ७–१० दिन र कोल्ड स्टोरमा ०–२ डिग्री तापक्रम तथा उच्च आर्द्रतामा ३–४ हप्तासम्म सुरक्षित राख्न सकिन्छ ।

यस बालीमा लाही र तोरीका झिँगा प्रमुख कीरा हुन् । जैविक विषादी प्रयोग उपयुक्त मानिन्छ भने आवश्यक परे मेटासिष्टक्स ५० इ.सी. छर्कन सकिन्छ । यस्तै माटोमा बोरन तत्व कमी हुँदा सलगमको गानो फुट्ने समस्या देखिने भएकाले जमीन तयारीकै बेला बोरेक्स मिसाउन विज्ञले सुझाव दिएका छन् ।

भक्तपुर र काठमाण्डौमा पाइने रातो जात विशेषगरी पहाडी क्षेत्रमा राम्रो फस्टाउँछ । पर्पल टप ह्वाईट ग्लोब भने व्यावसायिक उत्पादनका लागि व्यापक रूपमा लगाइने जात हो ।

By कृषि पाटी

अरू पढ्नुहोस्