भद्रपुर । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा मेची भन्सार कार्यालयमार्फत अलैँचीको निर्यात करिब दोब्बर बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार गत साउन महिनामा रु ३२ करोड १७ लाख ६१ हजार बराबरको २१६ दशमलव १५ मेट्रिक टन अलैँची विदेश पठाइएको छ।
गत वर्ष यही अवधिमा मात्र रु १६ करोड १२ लाख ५२ हजार बराबरको अलैँची निर्यात भएको थियो। यसरी हेर्दा अलैँची निर्यात ९९.५० प्रतिशतले वृद्धि भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए।
यता, साउनमा चियाको निर्यात भने २६.८० प्रतिशतले घटेको छ। चालु वर्षको साउनमा रु ३७ करोड ४८ लाख २४ हजारको चिया विदेश पठाइए पनि अघिल्लो वर्ष सोही अवधिमा रु ५१ करोड २२ लाख ७८ हजार बराबरको चिया निर्यात भएको तथ्याङ्कले देखाएको छ।
मुख्य निर्यात हुने वस्तुहरूमध्ये भेनियर सिट ३०.४० प्रतिशत, छुर्पी ९२ प्रतिशत, धातुका अवशेष शतप्रतिशत, काउली–ब्रोकाउली–बन्दाकोपी ८९ प्रतिशतले वृद्धि भएको छ। तर, प्लाइउड ५४.१० प्रतिशत, अदुवा ५७.४० प्रतिशत र अम्रिसो ०.६० प्रतिशतले घटेको छ।
मेची भन्सार कार्यालयमार्फत चालु आर्थिक वर्षको साउन महिनामा मात्र रु ३ अर्ब ६९ करोड ४० लाख २३ हजार बराबरको मालवस्तु निर्यात भएको तथ्याङ्कमा उल्लेख छ।
