आज सुदूरपश्चिम–कर्णालीमा भारी वर्षा

काठमाडौं । नेपालभर आज फेरि मनसुन सक्रिय छ। बिहानदेखि नै आकाश धमिलो र बादलले ढाकिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई बढी प्रभाव पारेको छ। त्यसैले यी क्षेत्रमा भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।

दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका पहाड तथा तराईका धेरै ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ भने कतिपय ठाउँमा वर्षा तीव्र भएर भारी पर्न सक्ने चेतावनी दिइएको छ। अरू प्रदेशका पहाडी क्षेत्र र तराईका केही स्थानमा पनि मध्यम वर्षा हुने देखिएको छ।

यसैबीच, मौसमविद्हरूले लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा हुरी–बतास चल्न सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन्।

आज राति पनि मौसम बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुने अनुमान छ। तर, लुम्बिनी र सुदूरपश्चिमका तराई भागमा फेरि भारी वर्षा पर्न सक्ने सम्भावना छ।

विशेषगरी भारी वर्षाले पहाडमा पहिरो, गेग्रान बहाव र सडक अवरुद्ध हुने जोखिम बढाउने, खहरे खोलामा पानी बढ्ने र सामान्य जनजीवन प्रभावित हुने भएकाले विभागले सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

By कृषि पाटी

अरू पढ्नुहोस्