फलफुल नर्सरीमा टनेलभित्रै अटोमेसन सिँचाइ

बागलुङ, भदौ ९ – दक्षिण बागलुङ जैमिनी–९ पैयुथन्थाप जन्मघर भए पनि बागलुङ–३ गौडाकोटलाई कर्मभूमि बनाएका अग्रणी कृषक गंगाबहादुर थापाले जिल्लामै पहिलोपटक विद्युत र इन्टरनेटमार्फत चल्ने अटोमेसन सिँचाइ प्रणाली सुरु गरेका छन्।

गौडाकोटमा तरकारी खेती गर्दै आएका थापाले हाल बागलुङ–६ पञ्चकोटमा पाँच रोपनी जमिन भाडामा लिएर ‘पञ्चकोट कृषि नर्सरी’ सञ्चालनमा ल्याएका छन्। टनेलभित्र स्थापित अटोमेसन प्रणालीमार्फत उनी घरमै बस्दा पनि मोबाइल प्रयोग गरी बिरुवालाई आवश्यकता अनुसार पानी दिन सक्ने व्यवस्था गरेका छन्।

“फार्ममा भएँ भने प्रत्यक्ष, नभए घरमै बसेर मोबाइलबाटै सिँचाइ हुन्छ,” थापाले बताए। विद्युत वा नेटवर्कमा समस्या परेमा वैकल्पिक रूपमा धाराबाट थोपा सिँचाइ गर्ने व्यवस्था पनि गरिएको छ।

उनको नर्सरीमा विशेषगरी ‘टाइफ्लेट’ जातको जङ्गली तिनपातेमा स्थानीय ‘खोकु’ सुन्तला कलमी गरेर उत्पादन गरिँदैछ, जसले विषम मौसममा पनि टिकाउ बिरुवा दिन्छ।

करीब २० लाख रुपैयाँ लगानीमा सञ्चालनमा ल्याइएको यस नर्सरीमार्फत थापाले भास्सा, पञ्चकोट र आसपासका क्षेत्रमा सुन्तलाको वृहत उत्पादन गर्ने लक्ष्य राखेका छन्।गोरखापत्र अनलाइनबाट

By कृषि पाटी

अरू पढ्नुहोस्