भिमादमा साइलेज उद्योग: किसानका पशुहरुलाई पौष्टिक आहार उपलब्ध


भिमाद नगरपालिका–६ मालेबगरमा साइलेज उद्योग सञ्चालनमा आएको छ। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत स्थापना गरिएको यस उद्योगमा गण्डकी प्रदेश सरकारले ७०% र भिमाद नगरपालिकाले ३०% लगानी गरी कुल रु ५६ लाख १८ हजार ७७१ खर्च भएको छ। यसमा संरचना निर्माणमा रु २२ लाख १८ हजार ७७१ र उपकरण जडानमा रु ३४ लाख खर्च भएको छ।

उद्योगको मुख्य उद्देश्य हिउँदमा घाँसको अभाव नहोस् भन्ने र किसानले पालेका पशुहरूलाई पौष्टिक आहार उपलब्ध गराउने हो। वर्षायाममा उमारिएको नेपियर, मकैल लगायतको घाँसलाई साइलेजमा परिणत गरी हिउँदमा खुवाउन सकिन्छ। दुधिलो मकैबाट साइलेज बनाएमा दाना र कुडो कम खपत हुने र दुहुना गाईभैँसी, बाख्रा, बङ्गुर, माछा आदिमा पनि खुवाउन सकिने बताइएको छ।

साइलेज उद्योग भिमाद कृषि उद्यम सहकारी संस्थाले सञ्चालन गर्नेछ। उद्योगको व्यवस्थापनका लागि नगरप्रमुख दधिराज सुवेदीको संयोजकत्वमा निर्देशक समिति गठन गरिएको छ। उद्योगबाट भएको नाफा सहकारी र नगरपालिकाबीच ५०–५० प्रतिशत बाँडफाँट गर्ने समझदारी भएको छ।

साइलेज उद्योग सञ्चालन भएपछि हिउँदमा पर्याप्त घाँस उपलब्ध हुने र किसानलाई आर्थिक र समय दुवैको बचत हुने अपेक्षा गरिएको छ।

By कृषि पाटी

अरू पढ्नुहोस्