भदौ ११ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान वरिपरि रहेकाले आज देशभर बदलीको प्रभाव देखिने अनुमान गरिएको छ।
दिउँसोतिर अधिकांश भू-भागमा आकाश सामान्यतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका पहाडी इलाकामा र तराईका केही भागमा मध्यम वर्षा पर्ने सम्भावना छ। विशेष गरी कोशी र गण्डकीका पहाडी क्षेत्रमा कतिपय ठाउँमा ठूलो (भारी) वर्षा हुने पूर्वानुमान गरिएको छ।
राति प्रवेश गर्दा कोशी, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली हुने देखिन्छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, यी प्रदेशका पहाडी र तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुने संभावना पनि रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षासँगै पहिरो, बाढी र यातायात अवरोधको जोखिम बढ्न सक्ने भएकाले सचेत रहन सबैलाई अनुरोध गरिएको छ।
