बारामा यस वर्ष शतप्रतिशत धान रोपाइँ

कलैया । चालु आर्थिक वर्षमा बारामा लक्ष्यअनुसार सम्पूर्ण धान रोपाइँ सम्पन्न भएको छ । यो वर्ष ४६ हजार २० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य लिइएकोमा सबै जमिनमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण साहले जानकारी दिए ।

साहका अनुसार सुरुवाती समयमा पर्याप्त वर्षा नपर्नु र खडेरीको कारण रोपाइँ ढिला भए पनि पछिल्ला दिनमा लगातार वर्षा भएपछि खेतीयोग्य जमिन बाँझो रहन पाएन । यस वर्ष जिल्लामा हर्दिनाथ, चैते–१, चैते–२, चैते–४, राधा–४, सोनामन्सुली, राधा–११, राधा–९ र राधा–७ लगायतका धानका जात रोपिएका छन् ।

अर्थविज्ञ गणेश महराले पटक–पटक परेको वर्षाले रोपाइँ सफल भएको बताउँदै उत्पादनमा कुनै कमी नहुने विश्वास व्यक्त गरे । उनका अनुसार अघिल्लो वर्ष पनि ४६ हजार २० हेक्टरमै धानखेती गरिएको थियो । त्यसबाट करिब एक लाख ९३ हजार २८४ मेट्रिक टन धान उत्पादन भई करिब छ अर्ब २८ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको थियो ।

By कृषि पाटी

अरू पढ्नुहोस्