काभ्रेपलाञ्चोक — बनेपा नगरपालिकाका केही वडामा दुधालु गाईभैंसीमा लम्पी–स्किन रोग देखिएको छ। नगरका वडा नम्बर १२ र १४ मा संक्रमित पशु भेटिएपछि पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले सतर्कता बढाएको हो।
कार्यालयका प्राविधिक तारामान तामाङका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका २५ स्थानीय तहमा पछिल्ला छ महिनायता लम्पी–स्किनविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ। यसैबीच भदौ पहिलो सातामा सप्ताहव्यापी जनचेतना कार्यक्रम पनि सम्पन्न भएको थियो।
नगर पशु सेवा शाखा प्रमुख चिरन्जिवी शर्माले बनेपाको वडा ११ र १२ का गाईमा लम्पी–स्किन पुष्टि भएको जानकारी दिए। संक्रमित क्षेत्र वरिपरिका गाईभैंसीलाई तुरुन्तै दोहोर्याएर खोप लगाइएको उनले बताए। बनेपामा मात्रै हालसम्म करिब १६ हजार पशुमा यो रोगविरुद्ध खोप लगाइएको छ।
जिल्ला पशु सेवा कार्यालयका तथ्यांकअनुसार गत वर्ष काभ्रेपलाञ्चोकमा २८ हजार ६५६ पशुमा लम्पी–स्किन देखिएको थियो। त्यसमध्ये एक हजार २७४ पशुको मृत्यु भएको थियो। केही स्थानीय तहले किसानलाई राहत उपलब्ध गराएका थिए।
नेपालमा पहिलो पटक सन् २०७७ साउनमा मोरङमा लम्पी–स्किन पुष्टि भएको थियो। त्यसयता सातै प्रदेशका विभिन्न जिल्लामा फैलिएको यस रोगले दूध उत्पादनमा ठूलो गिरावट ल्याएको पशु विज्ञ डा. प्रकाश अधिकारी बताउँछन्। उनका अनुसार रोग लागेपछि गाईभैंसीको दूध दिने क्षमता ७० प्रतिशतसम्म घट्ने गर्दछ।
रोगका लक्षण र फैलावट
लम्पी–स्किन लागेका पशुमा ज्वरो आउने, शरीरमा १–५ सेन्टिमिटरका कडा गिर्खा देखिने, खाना कम खाने, दूध उत्पादन घट्ने, मुखभित्र घाउ देखिने, आँखाबाट र नाकबाट अत्यधिक पानी झर्ने, ¥याल बग्ने, लिम्फनोड सुन्निने जस्ता लक्षण देखिन्छन्। गम्भीर अवस्थामा मृत्यु पनि हुन सक्छ।
यो रोगको भाइरस गोठको वातावरणमा लामो समय टिकिरहन्छ। संक्रमित पशु मरेपछि तुरुन्तै गाड्ने वा जलाउने व्यवस्था गर्नुपर्ने प्राविधिकहरूले सुझाव दिएका छन्। लामखुट्टे, किर्ना, भुसुनाजस्ता कीराले पनि रोगलाई एक पशुबाट अर्कोमा सार्ने गर्छन्। वर्षात्को मौसममा यसको प्रकोप बढी देखिने गर्दछ।
रोग संक्रमित पशुको सिङ्गान, दूध, रगत वा घाउबाट निस्कने पदार्थसँग प्रत्यक्ष सम्पर्क हुँदा फैलिन्छ। साथै, संक्रमित गाईभैंसीको ओसारपसार, सामुदायिक चरन क्षेत्र, दाना–पानी खाने स्थान तथा गर्भाधान प्रक्रियाबाट समेत रोग सर्ने गरेको अध्ययनले देखाएको छ।
