बागलुङमा धानको रोपो कुहिने समस्या, किसान चिन्तित

१२ भदौ – बागलुङ जिल्लाका किसानहरू धानको रोपो कुहिने समस्याले चिन्तित बनेका छन्। काठेखोला गाउँपालिका–१ का तुलबहादुर खत्रीले दुई हल मेलामा लगाएको रोपो पूर्ण रूपमा कुहिएर खेत रित्तिन लागेको छ।

गोडमेलको क्रममा रोपोमा कुहिने लक्षण देखिएपछि औषधि छर्किए पनि समस्या रोकिएको छैन। खत्रीजस्तै काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका धेरै किसान प्रभावित भएका छन्।

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालका अनुसार, गवारो कीराखेत कुहिने रोग मुख्य कारण हुन्। उनले किसानमा प्राविधिक ज्ञानको अभाव र झारनाशक तथा विषादीको दुरुपयोगका कारण समस्या बढेको बताए।
“रोपो कुहिएको र सुकेको भन्दै दैनिक सात जनाभन्दा बढी किसान कार्यालयमा आउनुहुन्छ,” उनले भने, “समस्या अनुसार प्राविधिक टोली खेतमै पुगेर सल्लाह दिने गरिएको छ।”

बाली संरक्षण अधिकृत सन्तोष अधिकारीका अनुसार, गौरिया, मसिनो, गुडुरा, जेठोबुढो र हाइब्रिड धानमा बढी समस्या देखिएको छ। उनले रोपो पहेँलो भएपछि किसानले युरिया मलको बढी प्रयोग गर्ने गरेको र त्यसले समस्या झन् चर्काएको बताए।

जिल्लामा यस वर्ष ५ हजार ७०७ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ४७८ हेक्टरमा धान रोपाइँ गरिएको छ। तर रोग र किराको प्रकोप बढेपछि उत्पादनमा असर पर्ने अनुमान गरिएको छ।

By कृषि पाटी

अरू पढ्नुहोस्