झापा । कोशी प्रदेशमा पछिल्लो आर्थिक वर्षमा माछाको उत्पादन उल्लेख्य रूपमा बढेको छ । तर उपभोग आवश्यकतामात्रा भने अझै पनि पूरा हुन सकेको छैन ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका मत्स्य विकास अधिकृत पार्वती लिम्बूका अनुसार प्रदेशमा व्यावसायिक रूपमा मुख्यत: कार्प र पङ्गास जातका माछापालन हुने गरेका छन् । दुवै जातको उत्पादन र पाल्ने क्षेत्रफल दुवै बढेका छन् ।
आर्थिक वर्ष २०८१/८२ मा कार्प जातको माछा २,४४२ हेक्टर क्षेत्रफलमा पालिएको थियो । अघिल्लो वर्ष २,०१६ हेक्टरमै सीमित कार्प पोखरी यस वर्ष बढ्दा उत्पादन पनि ९,३७७ मेट्रिक टनबाट बढेर ११,०७६ मेट्रिक टन पुगेको छ ।
त्यस्तै, उपभोक्ताले बढी मन पराउने पङ्गास माछाको उत्पादन पनि बढेको छ । आव २०८०/८१ मा २,३६६ मेट्रिक टन मात्र उत्पादन भए पनि आव २०८१/८२ मा यो बढेर ३,३९९ मेट्रिक टन पुगेको निर्देशनालयले जनाएको छ । पङ्गास पाल्ने पोखरी संख्या चार सय पाँचबाट बढेर चार सय १३ पुगेको छ भने क्षेत्रफल ७८ हेक्टरबाट ११० हेक्टरमा विस्तार भएको छ ।
तर, पहाडी भेगमा सफा पानीमा पालिने रेन्बो ट्राउट भने घट्दो अवस्थामा छ । अघिल्लो वर्ष ४३ पोखरीमा ट्राउट पालिएको भए चालु आवमा २९ पोखरीमै सीमित भएको छ ।
मत्स्य विकास अधिकृत लिम्बूका अनुसार कोशी प्रदेशमा हाल प्रतिव्यक्ति वार्षिक ११ किलो ५०० ग्राम माछा उपभोग हुन्छ । तर उत्पादनको हिसाबले हेर्दा आव २०८०/८१ मा प्रतिव्यक्ति उपलब्धता १ किलो ८०० ग्राम मात्रै थियो भने आव २०८१/८२ मा २ किलो २६० ग्राममा मात्र पुगेको छ ।
प्रदेश सरकारले माछापालनलाई प्राथमिकता दिँदै आएका भए पनि उत्पादन अझै मागअनुसार पुगेको छैन । यही कारण प्रदेशमा अझै भारतबाट आयातित माछामाथि निर्भर रहनुपर्ने अवस्था छ ।
हाल कोशी प्रदेशका ५६ वटा सिमसार पोखरीमा पनि माछापालन भइरहेको छ ।
