देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले र बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेकाले देशभर बदली रहने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। अन्य भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

विभागका अनुसार, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, लुम्बिनी प्रदेशको तराई क्षेत्र र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरिएको छ।

आज राति देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू–भागका धेरै स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग साथै लुम्बिनी र कोशी प्रदेशका तराईका भू–भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

भारी वर्षाका कारण पहाडी क्षेत्रमा भू–क्षय, पहिरो र नदीनालामा पानीको सतह बढ्न सक्ने सम्भावना छ। तराईका केही क्षेत्रमा डुबानको जोखिम समेत रहन सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक तयारी गर्न विभागले सुझाव दिएको छ।

By कृषि पाटी

अरू पढ्नुहोस्