नेपालका कृषि उत्पादन चीनतर्फ: नयाँ अवसर र तयारी

काठमाडौं । नेपालले कृषिउत्पादनलाई बाह्य बजारमा विस्तार गर्ने लक्ष्यसहित चीनसँग औपचारिक पहल थालेको छ। बिहीबार काठमाडौंमा सम्पन्न नेपाल–चीन उच्चस्तरीय बैठकमा नेपालले राँगाको मासु, दुग्धजन्य पदार्थ, तरकारी, फलफूल र जडीबुटीलाई प्राथमिकतामा राख्दै निर्यात प्रक्रियामा सहजता दिन आग्रह गरेको हो।

बैठकमा नेपाल पक्षको नेतृत्व कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गरे भने चीनतर्फ भन्सार प्रशासनका उपमन्त्री वाङ लिङजुन उपस्थित थिए। दुवै पक्षबीच भएको छलफललाई सकारात्मक वातावरणमा अगाडि बढाइएको छ।

नेपालले थर्मलरुपमा प्रशोधित राँगाको मासु, भैंसीको कार्टीलेज (कुरकुरे हाड), घ्यू, नौनी, वटर र छुर्पीलाई निर्यात सूचीमा राखेको छ। साथै हेलेज–साइलेजजस्ता पशु आहार तथा कुखुराको मासु, तरकारी, चिया, कफी र जडीबुटीलाई पनि चीनमा पठाउन सकिने सामर्थ्य भएको प्रष्ट पारेको छ।

हाल नेपालबाट ६१ कम्पनीमार्फत ३४ प्रकारका कृषिवस्तु निर्यात भइरहेका छन् भने पाँच कम्पनीले हरियो घाँस (हेलेज) चीन पठाउँदै आएका छन्। चीनका उपमन्त्री वाङले नेपालबाट आउने कृषिवस्तुलाई उच्च प्राथमिकताका साथ हेरिने उल्लेख गरेका छन्।

By कृषि पाटी

अरू पढ्नुहोस्