काठमाडौं – नेपालका उच्च पहाडी भेगमा पाइने मूल्यवान् जडीबुटी चिराइतो हाल व्यवसायिक खेतीतर्फ आकर्षित हुन थालेको छ । समुद्री सतहदेखि करिब १,२०० देखि ३,००० मिटर उचाइसम्मको चिसो र खुला चौर यसको मुख्य वासस्थान मानिन्छ ।
चिराइतोको बिरुवा करिब १ देखि १.५ मिटर अग्लो हुन्छ । यसको जराहरू सतहमै फैलिएको हुँदा सजिलै उखेलेर संकलन गर्न सकिन्छ । पात भालाकृत, टुप्पो तीखो र १ देखि ११ सेन्टिमिटरसम्म लामो हुने गर्दछ भने फूलहरू हरियो वा पहेँलो रंगका झुप्पामा फुल्ने गर्छन् । विशेष कुरा के भने एउटै फूलमा भाले र पोथी दुवै प्रजनन अंग पाइन्छन् ।
नर्सरी तयारी
विशेषज्ञका अनुसार चिराइतो खेती सुरु गर्न सर्वप्रथम नर्सरी तयार गर्नुपर्छ । दक्षिणतर्फको हल्का घाम पर्ने, छायाँयुक्त र मलिलो जमिन यसको लागि उपयुक्त मानिन्छ । बिउ अत्यन्तै सानो हुने भएकाले सामान्यतया एक भाग बिउमा १० भाग बालुवा मिसाएर छर्ने गरिन्छ । बिउ छरेको करिब २०–२५ दिनपछि बिरुवा उम्रने र ९० दिनमा अंकुरण हुने बताइन्छ । यसका लागि कात्तिक–मंसिर महिना उपयुक्त हुन्छ ।
औषधीय महत्व
चिरेटिन नामक मुख्य तत्व रहेको चिराइतो आयुर्वेदमा बहुउपयोगी औषधीय जडीबुटीको रूपमा मानिन्छ । ज्वरो, रुघाखोकी, खानाको स्वाद नलाग्ने समस्या, पेटका रोग, छालासम्बन्धी समस्या, दृष्टि सुधारजस्ता स्वास्थ्य लाभका लागि यसको प्रयोग हुँदै आएको छ ।
स्थानीय स्तरमा अझै पनि मलेरिया ज्वरो आएको बिरामीलाई चिराइतो पानीमा भिजाएर रस पिलाउने चलन छ । यसबाहेक, यसमा पाइने अन्य तत्वहरूले कपाललाई लामो बनाउन मद्दत गर्ने, आँखा पोल्ने कम गर्ने र गर्भवती महिलामा देखिने समस्या कम गर्ने गुणसमेत रहेको विज्ञहरूको भनाइ छ ।
व्यावसायिक सम्भावना
नेपालका करिब ४० जिल्लामा चिराइतो पाइने भएकाले यसलाई व्यवसायिक खेतीतर्फ उन्मुख गर्न सकिने विशेषज्ञहरू बताउँछन् । विशेषगरी औषधि कम्पनीदेखि बियर उद्योगसम्मले यसलाई प्रयोग गरिरहेको छ । क्यान्सर उपचारका लागि विकास गरिने केही औषधिहरूमा समेत यसको प्रयोग हुने गरेको पाइन्छ ।
चिराइतोको स्वाद यद्यपि अत्यन्तै तीतो हुन्छ, तर यसै तीतोपनाले यसलाई औषधीय हिसाबले अझ प्रभावकारी बनाएको वैज्ञानिकहरू बताउँछन् ।
