देशभर बदली, कतिपय स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास सक्रिय रहेको र अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रिएको कारण आज देशभर मौसम बदली रहने मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने देखिएको छ। अन्य प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा पनि वर्षा हुने सम्भावना छ। विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

आज राति पनि देशभर आकाश सामान्यतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने अनुमान छ। बाँकी पहाडी तथा तराई भूभागका थोरै स्थानमा समेत वर्षा हुने सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा पर्न सक्ने देखिएकाले सचेत रहन अनुरोध गरिएको छ।

वर्षाका कारण नदी–नाला र खोला–खाल्सीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय र पहिरोको खतरा रहने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले सर्वसाधारणलाई सचेत गराएको छ।

By कृषि पाटी

अरू पढ्नुहोस्