धान खेतमा मलको अभाव, किसान चिन्तित

गुलरिया – गुलरिया नगरपालिका–३ का किसान बाबुराम यादव युरिया मलको खोजीमा धेरै दिनदेखि दौडधूप गर्दै हुनुहुन्छ । सहकारीमा शेयर सदस्य नहुँदा उहाँले धानमा हाल्ने रासायनिक मल पाउन सक्नुभएको छैन ।

धानमा पहेंलोपन देखिएपछि चिन्तित यादवले भन्नुभयो, “यसपालि त भात खानै मुस्किल हुने भयो । सहकारीका सदस्यलाई त नपुग्ने रहेछ, हामीलाई कहाँ दिन्छन् र ?”

सरकारको नीतिअनुसार अनुदानको मल सहकारीमार्फत मात्रै वितरण हुने गरेको छ । तर सहकारीका साधारण सदस्यले समेत पर्याप्त मल नपाइरहेका कारण सर्वसाधारण किसानहरू झन् वञ्चित भएका छन् । सहकारी संस्थामा मल आपूर्ति न्यून हुँदा केही किसानले त ५ किलो मात्र युरिया पाएका छन् ।

गुलरिया–३ को कल्पतरु कृष्णसार कृषि सहकारीका अध्यक्ष चिन्तामणी कंडेलका अनुसार एक बिघा खेत हुने किसानलाई पाँच किलो युरिया मात्र वितरण गर्नुपरेको छ । सरकारले पठाएको मल पर्याप्त नहुँदा बर्दियाका किसान युरियाको चरम अभाव भोगिरहेका छन् ।

गत वर्ष भारतीय बजारबाट अवैध रूपमा मल ल्याएर प्रयोग गर्ने गरेका किसानहरूले यस वर्ष त्यो विकल्प समेत गुमाएका छन् । “भारततिर पनि मल पाइएन, थोरै डिएपी रोप्दा मात्रै प्रयोग गर्‍यौँ, अहिले युरिया हाल्नै पाइएन,” एक किसानले नाम नखुलाउने शर्तमा बताउनुभयो ।

मलको कमीका कारण धानका खेतहरू पहेँलिन थालेका छन् । पहिले नै सिँचाइ अभाव झेलिरहेका बर्दियाली किसान अहिले मलको संकटसँग जुधिरहेका छन् । पर्याप्त मल नपाइए यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ ।

By कृषि पाटी

अरू पढ्नुहोस्