काठमाडौं । नेपाली भान्सामा मसला मात्र होइन, आयुर्वेदिक औषधिका रूपमा पनि प्रयोग हुँदै आएको बेसार अब व्यावसायिक खेतीमार्फत किसानको आम्दानी बढाउने मुख्य स्रोत बन्दै गएको छ। जिन्जिबेरसी परिवारमा पर्ने कन्दमूल बेसार (वानस्पतिक नाम Curcuma longa) नेपालको माटो र हावापानीमा सजिलै फस्टाउने बाली हो। कृषि विज्ञहरूका अनुसार परम्परागत ज्ञानमा आधुनिक प्रविधि जोड्न सके यसबाट किसानले लाखौँसम्मको आम्दानी लिन सक्छन्।
खेतीका लागि उपयुक्त क्षेत्र
नेपालका अधिकांश भूभागमा बेसार खेती सम्भव भए पनि विशेषगरी उष्ण हावापानी र समुद्री सतहदेखि करिब १२०० मिटर उचाइसम्म यसका लागि उपयुक्त मानिन्छ। पानी नजम्ने बलौटो दोमट माटो, जसको pH ५.५ देखि ६.५ सम्म हुन्छ, खेतीका लागि उत्तम हुने विज्ञहरूको सुझाव छ।
खेतीको प्रक्रिया
- जग्गा तयारी : चैत–वैशाखमा पानी परेपछि जग्गा राम्ररी खनजोत गर्नुपर्छ। एक रोपनीका लागि करिब १२० केजी बीउ आवश्यक पर्छ।
- बीउ छनोट : कम्तीमा दुई टुसा भएको ३०–५० ग्रामको गानो छनोट गरी फफूँदनाशक घोलमा उपचार गरी रोप्नुपर्छ।
- मलखाद : प्रतिरोपनी करिब १५०० केजी गोबर मलसहित डीएपी, युरिया र पोटास प्रयोग गर्नुपर्छ।
- सिँचाइ र गोडमेल : मौसमअनुसार १०–१२ पटक सिँचाइ गर्नुपर्ने हुन्छ। बेलाबेलामा गोडमेल गरी माटो खुकुलो बनाउनुपर्छ।
- छापो (Mulching) : रोपाइँपछि पातपतिङ्गरले छोप्दा चिस्यान जोगिनुका साथै झारपात पनि नियन्त्रण हुन्छ।
- उत्पादन : करिब ९ महिनापछि बाली खन्न सकिन्छ। एक रोपनीबाट २–२.५ मेट्रिक टनसम्म काँचो बेसार उत्पादन गर्न सकिने अनुमान छ।
उन्नत जात
उत्पादन बढाउन र रोग प्रतिरोध क्षमता बलियो बनाउन नेपालमै विकास गरिएका कपुरकोट हलेदो–१ र कपुरकोट हलेदो–२ लोकप्रिय छन्। यस्तै CI–1, सगुन र सुवर्ण जात पनि किसानले व्यावसायिक रूपमा अपनाउन थालेका छन्। यी जातमा कुरकुमिनको मात्रा बढी हुने भएकाले बजार मूल्य पनि आकर्षक हुने गर्दछ।
बजार व्यवस्थापन
बेसार उत्पादनसँगै यसको बजार सुनिश्चित गर्न किसानलाई केही रणनीति अवलम्बन गर्न विज्ञहरूले सुझाव दिएका छन्।
- मूल्य अभिवृद्धि : काँचो बेसार बेच्नुभन्दा उसिनेर, सुकाएर र पिँधेर धुलो बनाएर प्याकेजिङ गर्दा आम्दानी दोब्बर हुन्छ।
- समूह र सहकारी : सामूहिक रूपमा उत्पादन तथा प्रशोधन गर्दा ठूला व्यापारीसँग मोलमोलाइ गर्न सजिलो हुन्छ।
- प्रत्यक्ष बजार : स्थानीय हाटबजार, सहरका पसल र होटल–रेस्टुरेन्टमार्फत बिक्री गर्न सकिन्छ।
- डिजिटल माध्यम : सामाजिक सञ्जाल र ई–कमर्स प्लेटफर्ममार्फत उपभोक्तासम्म सिधै पुग्न सकिन्छ।
- अर्गानिक प्रमाणीकरण : रासायनिक मल र विषादीविनाको उत्पादनलाई अर्गानिक प्रमाणपत्रसहित बेच्दा बढी मूल्य पाउन सकिन्छ।
विशेषज्ञहरूको भनाइमा, नेपालमा बेसार खेती परम्परागत बाली मात्र नभई ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने माध्यम बन्दै गएको छ। उन्नत जात, वैज्ञानिक प्रविधि र स्मार्ट बजार रणनीति अपनाउन सके किसानले मनग्य आम्दानी लिनुको साथै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा पनि योगदान पुर्याउन सक्नेछन्।
