काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि यसको सीधा प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (मंगलबार) सुनको मूल्य प्रतितोला रु २,०५,९०० कायम भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य मानिएको छ ।
यसअघि सोमबार सुन प्रतितोला रु २,०५,३०० मा कारोबार भएको थियो । आज भने प्रतितोला रु ६०० ले बढेर नयाँ उच्चतामा पुगेको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले वृद्धि भई रु २,४८५ पुगेको महासङ्घले जनाएको छ ।
महासङ्घका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार नेपालमा उपभोक्ताको मागका कारण नभई विश्व राजनीति र अर्थतन्त्रमा आएको अस्थिरताले सुनको मूल्यमा निरन्तर वृद्धि भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्वबजारमा सुन प्रतिऔंस ३,४९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
