१७ भदौ – लामो वार्तापछि अन्ततः नेपाल चिया उत्पादक सङ्घ र चिया मजदुरका ट्रेड युनियनबीच पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ। यस सहमति अनुसार अब चिया बगानमा काम गर्ने मजदुरले दैनिक न्यूनतम ५६५ रुपैयाँ पाउने भएका छन्।
सोमबार भद्रपुरमा भएको सम्झौतामा संघतर्फ वार्ता समिति संयोजक जेपी शर्माले हस्ताक्षर गरे भने श्रमिक संगठनतर्फ नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राई, अखिल नेपाल चिया मजदुर सङ्घकी अध्यक्ष सीता सापकोटा र नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले हस्ताक्षर गरेका छन्।
नयाँ सम्झौताअनुसार मजदुरको मासिक तलब पनि बढेको छ। अब उनीहरूले न्यूनतम १५ हजार ६९९ रुपैयाँ मासिक पाउनेछन्। यसअघि दैनिक ५०० र मासिक १३ हजार ८९३ रुपैयाँमात्र पाउँदै आएका थिए।
सहमति अनुसार दैनिक पारिश्रमिकमा ३९ रुपैयाँ आधारभूत तलबमा र २६ रुपैयाँ महँगी भत्तामा थपिएको छ। त्यस्तै, मासिकतर्फ आधारभूत तलबमा १,१६२ र महँगी भत्तामा ६४४ रुपैयाँ बढाइएको छ।
नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष राईका अनुसार, यो सहमति नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा पठाइनेछ। समितिले स्वीकृति दिएपछि सरकारको राजपत्रमा प्रकाशित हुने र २०८२ साउन १ गतेदेखि लागू हुने उनले जानकारी दिए।
चिया बगान मजदुरले साउन १८ गतेदेखि आन्दोलन थालेपछि वार्ता प्रक्रिया सुरु भएको थियो। अन्ततः नवौँ चरणमा पुगेको वार्ता सहमतिमा टुंगिएको हो। यससँगै आगामी दुई वर्षसम्म पारिश्रमिकबारे विवाद नहुने सहमति पनि गरिएको छ।
नेपालमै सबैभन्दा बढी चिया बगान रहेको झापामा नियमित र मौसमी दुवै किसिमका मजदुर कार्यरत छन्। सम्झौता अनुसार नियमित श्रमिकलाई सामाजिक सुरक्षा कोषमा असोज मसान्तसम्म समावेश गर्नका लागि लगत संकलन गरिनेछ।
