धनकुटामा अलैंची उत्पादन वृद्धि, निर्यात आय बढ्यो

भदौ १७ । आर्थिक वर्ष २०८१/८२ मा धनकुटाबाट करिब ८ करोड ५० लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ।

कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार गत वर्ष १२७ हेक्टर क्षेत्रमा गरिएको खेतीबाट ४० मेट्रिक टन अलैंची उत्पादन भएको हो, जुन अघिल्लो वर्षको भन्दा करिब ५.२ मेट्रिक टन बढी हो।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३४.८ मेट्रिक टन अलैंची उत्पादन भएको थियो र करिब ७ करोड ४६ लाख रुपैयाँ बराबरको निकासी भएको थियो। यस वर्ष उत्पादन र मूल्य दुवै बढेकाले निर्यात मूल्य करिब एक करोड चार लाख रुपैयाँले बढेको कृषि ज्ञान केन्द्रका प्रमुख नगेन्द्र बहादुर रानाले जानकारी दिनुभयो।

गत वर्ष अलैंचीको खरिदबिक्री प्रतिमन ७५ हजारदेखि ९५ हजार रुपैयाँसम्म भएको थियो। मूल्यमा आएको सुधार र उत्पादनमा वृद्धि दुबै कारण किसानहरु उत्साहित बनेको केन्द्रले जनाएको छ।

कृषि विज्ञका अनुसार अलैंची खेती केही वर्षयता रोग तथा मूल्य गिरावटका कारण संकटमा परेको थियो। तर अहिले पुनः मूल्य बढ्दा र उत्पादन सुधारिँदा यस क्षेत्रका किसानमा आशा पलाएको छ।

By कृषि पाटी

अरू पढ्नुहोस्