नेपालमा ‘एन्टीबायोटिकरहित’ अण्डा उत्पादन

१७ भदौ । पछिल्ला वर्षमा नेपालमा उत्पादन हुने अण्डा अधिकांशत: एन्टीबायोटिकरहित भएका छन्। सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोगमा प्रतिबन्ध लगाएपछि किसानहरूले वैकल्पिक उपायमार्फत रोग नियन्त्रण गर्दै अण्डा उत्पादन गर्न थालेका हुन्।

कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार, अहिले धेरैजसो फार्ममा एन्टीबायोटिक प्रयोग बन्द गरिएको छ। उनले परामर्श दिने नवलपरासीको दाउन्ने एग्रो फार्ममा एन्टीबायोटिक पूर्ण रूपमा निषेध गरिएको उल्लेख गरे। पहिले दाना र पानीमा प्रयोग हुने एन्टीबायोटिक अण्डामा समेत पुग्ने भएकाले मानव स्वास्थ्यमा असर गर्थ्यो। तर अहिले खोप र जडिबुटीजन्य खुराक प्रयोग गरेर कुखुराको रोग प्रतिरोधात्मक क्षमता बढाइने गरिएको छ।

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले संघभित्रका फार्महरू एन्टीबायोटिकरहित उत्पादनमा केन्द्रित भएको बताए। उनका अनुसार खर्च र जोखिम बढे पनि गुणस्तरीय अण्डा उत्पादनमा प्राथमिकता दिइएको छ। नेपाल अण्डा उत्पादक संघका पूर्वअध्यक्ष त्रिलोचन कँडेलले सीमा पारबाट आउने अण्डाको गुणस्तर भने प्रश्नयोग्य भएको बताए।

फिजिसियन डा. भोजराज अधिकारीका अनुसार, एन्टीबायोटिक प्रयोग नगरेका अण्डा अझ स्वास्थ्यकर हुन्छन् र मानव शरीरका लागि लाभदायी हुन्छन्।

By कृषि पाटी

अरू पढ्नुहोस्