भारतबाट ४० हजार मेट्रिक टन गहुँ आयात हुने

भदौ १७ । सरकारले भारतबाट ४० हजार मेट्रिक टन गहुँ आयात गर्ने तयारी गरेको छ। यसका लागि खाद्य तथा मैदा उद्योगलाई प्रस्ताव पेश गर्न आह्वान गरिएको छ।

उद्योग विभागका अनुसार भारत सरकारमार्फत भारतीय कम्पनी नेसनल कोअपरेटिभ एक्सपोर्ट लिमिटेड (NCEL) सँगै नेपालले गहुँ आयात गर्न स्वीकृति प्राप्त गरेको हो। इच्छुक उद्योगी तथा व्यवसायीलाई सात दिनभित्र प्रस्ताव पेश गर्न आग्रह गरिएको विभागले जनाएको छ।

स्थानिय उत्पादनले आन्तरिक माग धान्न नसक्दा गहुँ आयात गर्नुपर्ने बाध्यता बनेको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा सात लाख १५ हजार हेक्टर क्षेत्रफलमा जम्मा २१ लाख ५५ हजार ६६७ मेट्रिक टन गहुँ उत्पादन भएको थियो।

प्रदेशगत उत्पादनमा मधेश प्रदेश अग्रस्थानमा रह्यो, जहाँ करिब ६ लाख ३२ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो। त्यसपछि लुम्बिनी प्रदेशमा ५ लाख ३६ हजार मेट्रिक टन, सुदूरपश्चिममा ३ लाख ७७ हजार मेट्रिक टन, कर्णालीमा १ लाख ८८ हजार मेट्रिक टन, बागमतीमा १ लाख ७४ हजार मेट्रिक टन, कोशीमा १ लाख ४८ हजार मेट्रिक टन र गण्डकीमा ९९ हजार ५५१ मेट्रिक टन गहुँ उत्पादन भएको मन्त्रालयले जनाएको छ।

स्थानीय उत्पादन पर्याप्त नभएपछि नेपालले विगतमा पनि गहुँ आयात गर्दै आएको छ। भन्सार विभागका अनुसार आव २०८०/८१ मा करिब ६५ हजार मेट्रिक टन गहुँ आयात गरिएको थियो, जसको मूल्य दुई अर्ब ७३ करोड रुपैयाँ बराबरको थियो। गत वर्ष भारतले उत्पादन कम भएको कारण गहुँ निर्यातमा रोक लगाएपछि आयात न्यून मात्रामा भएको थियो।

By कृषि पाटी

अरू पढ्नुहोस्