अब खाद्य उद्योग अनुमतिपत्र अनलाइनमै

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य उद्योगसम्बन्धी अनुमतिपत्र व्यवस्थापनका सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत उपलब्ध गराउने भएको छ।

विभागले हालै सार्वजनिक गरेको नयाँ प्रणालीमार्फत उद्योग दर्ताको सिफारिस, अनुमतिपत्र जारी तथा नविकरण सबै सेवा अब डिजिटल रूपमा लिन सकिनेछ। यस प्रणालीलाई विभागले Nepal’s Food and Feed Industry Licensing System (NeFFILS)  नामाकरणसमेत गरेको छ, जसको औपचारिक शुभारम्भसँगै सेवा पूर्ण रूपमा सुरु भएको हो।

यस सुविधाअन्तर्गत आवेदन दिनेदेखि आवश्यक कागजात अपलोड गर्ने, आवेदनको प्रगतिस्थिति हेर्ने र प्राप्त अनुमतिपत्रलाई डिजिटल ढंगले सुरक्षित राख्ने सुविधा उपलब्ध गराइएको विभागले जनाएको छ।

राजधानीमै आयोजना गरिएको अभिमुखीकरण तथा तालिम कार्यक्रममा काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकका करिब ७० जना उद्योग व्यवसायी तथा विभिन्न छाता संगठनका प्रतिनिधि सहभागी भए। कार्यक्रममा प्रणाली प्रयोगबारे डेमो र जानकारीमूलक भिडियो प्रस्तुत गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै विभागका महानिर्देशक सञ्जीव कुमार कर्णले नयाँ प्रणालीले सेवा प्रदाय छरितो, पारदर्शी र समयानुकूल बनाउने विश्वास व्यक्त गरे। “अब सेवाग्राहीले देशको जुनसुकै कुनाबाट पनि इन्टरनेटमार्फत सहजै सेवा लिन सक्नेछन्। यसले कार्यालय धाउनुपर्ने बाध्यता हट्ने मात्र होइन, समय, श्रम र खर्चमा समेत बचत हुनेछ,” उनले भने।

हाल यो सेवा काठमाडौं र हेटौडा कार्यालयमार्फत शुरु गरिएको छ भने निकट भविष्यमा विभागका सबै कार्यालयमार्फत विस्तार गरिने जानकारी दिइएको छ।

By कृषि पाटी

अरू पढ्नुहोस्