भारतीय केराको आयात रोक्न नवलपरासीका किसानको आग्रह

भदौ १८, नवलपरासी । पश्चिम नवलपरासीका केरा उत्पादक किसानले भारतबाट हुने केरा आयात तत्काल रोक्न माग गरेका छन् । उनीहरूले आफ्ना उत्पादन बजारमा खपत नहुँदा लागत समेत नउठ्ने चिन्ता व्यक्त गर्दै स्थानीय प्रशासनसमक्ष ध्यानाकर्षण गराएका हुन् ।

आज प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाएका किसानले आन्तरिक उत्पादनले नै पर्याप्त मात्रामा माग धान्ने भएकाले भारतीय केरा भित्रन नदिन आग्रह गरेका छन् । केरा उत्पादक सङ्घ नवलपरासीका अध्यक्ष लख्खु यादवका अनुसार हाल खेतमै पाकेर नष्ट हुन थालेपछि किसानहरूको ठूलो लगानी संकटमा परेको छ ।

गत वर्ष प्रतिदर्जन ४५ रुपियाँसम्ममा बिक्री भएको केरा यस वर्ष २० रुपियाँमै बजार नपाएको किसानहरूको गुनासो छ । जमिन भाडामा लिएर खेती गर्ने धेरै किसानहरू लागत फिर्ता नहुने डरले आक्रोशित भएका छन् ।

प्रतापपुर र सुस्तालाई मुख्य केरा पकेट क्षेत्र मानिन्छ । सो क्षेत्रमा करिब १८ सय बिघा जमिनमा व्यावसायिक केरा खेती हुँदै आएको छ । असारदेखि आगामी छ महिना सम्म आन्तरिक उत्पादनले माग धान्ने भएकाले यस अवधिमा आयात रोक्नुपर्ने किसानहरूको भनाइ छ ।

किसानहरूले तीनै तहका सरकारलाई बजार व्यवस्थापनतर्फ तत्काल कदम चाल्न आग्रह गरेका छन् । समयमै बिक्री नभए खेतमा नै फलफूल नष्ट हुने अवस्था आएको उनीहरूको चेतावनी छ ।

By कृषि पाटी

अरू पढ्नुहोस्