सिन्धुलीमा तीन करोडभन्दा बढीको कृषि कार्यक्रम सार्वजनिक

सिन्धुलीमाढी । यस वर्ष सिन्धुलीका कृषकलाई लक्षित गर्दै तीन करोड रुपैयाँभन्दा बढीको कृषि कार्यक्रम सञ्चालन हुने भएको छ। कृषि विकास कार्यालय सिन्धुलीले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि पूँजीगत तर्फमा तीन करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको कार्यक्रम सार्वजनिक गरेको हो।

कार्यालयका अनुसार बागमती प्रदेश सरकार र संघीय सरकारको सहकार्यमा कृषक समूह, सहकारी संस्था, निजी कृषि फर्म र कार्यालय आफैंले विभिन्न साझेदारी कार्यक्रम अघि बढाउने तयारी भइरहेको छ।

‘एक वडा, एक उत्पादन’ अवधारणाअन्तर्गत सुनकोसी गाउँपालिका–५ र फिक्कल गाउँपालिका–५ मा तरकारी खेती विस्तार गरिनेछ। त्यस्तै, कृषि विकास उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत साझेदारलाई बढीमा दुई लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराइनेछ।

फलफूल, तरकारी, खाद्यान्न, अलैची तथा मसला बाली प्रवर्द्धन कार्यक्रम पनि सञ्चालन हुने कार्यालयले जनाएको छ। व्यवसायिक तरकारी खेतीका लागि प्रतिहेक्टर बढीमा दुई लाख रुपैयाँसम्म र अन्य बालीमा बढीमा एक लाख रुपैयाँसम्म अनुदान दिने व्यवस्था गरिएको छ।

कार्यालय प्रमुख अनुप अधिकारीका अनुसार दलित, लोपोन्मुख, सिमान्तकृत, अल्पसङ्ख्यक तथा एकल महिलालाई लक्षित गरी मागमा आधारित जीविकोपार्जन कार्यक्रम पनि ल्याइएको छ। यस योजनामा सहभागी हुने प्रत्येक कृषकले बढीमा एक लाख रुपैयाँसम्म अनुदान पाउनेछन्।

यस्तै, बिउ उत्पादन क्षेत्रभित्र सिँचाइ विस्तारका लागि तीनवटा कार्यक्रम सञ्चालन हुने छन्, जसमा बढीमा तीन लाख रुपैयाँसम्म अनुदान दिइनेछ।

By कृषि पाटी

अरू पढ्नुहोस्