सीमावर्ती क्षेत्रमा बर्डफ्लुको उच्च जोखिम

कञ्चनपुर । भारतको उत्तराखण्डमा बर्डफ्लु पुष्टि भएपछि कञ्चनपुर जिल्लामा उच्च सतर्कता अपनाइएको छ। सीमा नजिकै रोग देखिएपछि नेपालतर्फ संक्रमण फैलिन नदिन जिल्लास्तरीय बर्डफ्लु नियन्त्रण समिति सक्रिय बनेको हो।

जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्याम खड्काका अनुसार दोधाराचाँदनी, बेलौरी, पुनर्वास, भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिकामा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ। पन्छी तथा पन्छीजन्य उत्पादनको अवैध आयात रोक्न सुरक्षाकर्मी सहितको टोलीले आकस्मिक अनुगमन सुरु गरेको छ।

“भारतबाट सस्तो मूल्यका कारण अवैध रूपमा कुखुरा नेपाल भित्रिने क्रम बढेकाले जोखिम थपिएको छ,” खड्काले बताए। उनका अनुसार संक्रमण फैलिएमा पूरै क्षेत्रमा रहेका कुखुरा नष्ट गर्नुपर्ने बाध्यता आउन सक्छ। त्यसैले किसानलाई लक्षण देखिएमा तुरुन्तै पशु सेवा केन्द्रमा जानकारी दिन आग्रह गरिएको छ।

यसैबीच, भारतको बागेश्वर र उधमसिंहनगरमा संक्रमण देखिएपछि नेपालतर्फ रोग रोक्न भारतबाट कुखुरा तथा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध लगाइएको छ। पुनर्वास, बेलौरी, बेलडाँडी, दोधाराचाँदनी र भीमदत्त नगरपालिका–१, २ र १० का सीमावर्ती क्षेत्रमा पन्छीजन्य उत्पादनको ओसारपसार पूर्ण निषेध गरिएको छ।

By कृषि पाटी

अरू पढ्नुहोस्