गलकोट – बागलुङ जिल्लाका दुग्ध उत्पादक किसानले आफ्ना ७०५ वटा पशुको बीमा गरेका छन्। जिल्ला सहकारी सङ्घमा आवद्ध बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका किसानहरूले सामूहिक रूपमा बीमा गराएका हुन्।
सङ्घका अध्यक्ष दीपक गौतमका अनुसार गत आर्थिक वर्षमा किसानहरूले बीमा प्रिमियमका लागि रु ४ लाख ८४ हजार ५०० तिरेका थिए। त्यसै अवधिमा सरकारले अनुदानस्वरूप रु १९ लाख ३८ हजार उपलब्ध गराएको थियो। यसरी जम्मा रु २४ लाख २२ हजार ५०० पशुधन सुरक्षा कोषमा संकलन भएको उनले जानकारी दिए।
चालु आर्थिक वर्षमा भने पशुधन सुरक्षा कार्यक्रममा संकलित रकम रु ७८ लाख ८० हजार पुगिसकेको छ।
जिल्ला सहकारी सङ्घले विगत २४ वर्षदेखि दुग्ध क्षेत्रलाई प्राथमिकता दिँदै आएको छ। हाल यसको संजालमा रहेका १५ दुग्ध सङ्कलन सहकारीमार्फत एक हजार ५०० भन्दा बढी किसान संलग्न छन्। ती किसानले दैनिक करिब ३ हजार ५०० लिटर दूध सङ्कलन, प्रशोधन र बजार आपूर्ति गर्दै आएका छन्।
