हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै नयाँ आदेश जारी गरेको छ। बिहीबार सार्वजनिक सूचनाअनुसार अब जिल्लामा दिउँसो निषेधाज्ञा र राति कर्फ्यु लागु हुने भएको छ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा हस्ताक्षरित आदेशअनुसार, राति बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु रहनेछ। यस अवधिमा अत्यावश्यक बाहेक कुनै पनि किसिमको हिँडडुल वा आवतजावत पूर्णतः निषेध गरिएको छ।
त्यस्तै, दिउँसो बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी हुनेछ। यस समयमा अनावश्यक भीडभाड, सभा वा जमघट गर्न पाइने छैन।
तर नागरिकको सहजताका लागि प्रशासनले बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक आवतजावत गर्न छुट दिएको छ।
प्रशासनले जनधनको सुरक्षा र जनजीवनलाई सामान्य बनाउन यस व्यवस्था आवश्यक भएको जनाएको छ।
