दसैँ नजिकिँएसँगैं हिमाली भेडाच्याङ्ग्रा बजार झर्न थाले

दसैँ नजिकिँदै गर्दा हिमाली भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । मुस्ताङ, जुम्ला र डोल्पामा पालिएका च्याङ्ग्रा किसान र व्यापारीले बथानसहित मुलुकका विभिन्न सहरतर्फ पठाउन सुरु गरेका हुन् । भेडाच्याङ्ग्रा बजार झर्न थालेपछि दसैँ पर्वको वातावरण थप प्रस्ट भएको छ ।

मुस्ताङबाट बेनी–जोमसोम सडकमार्ग हुँदै म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका च्याङ्ग्रा ट्रक र कन्टेनरमार्फत पोखरा, काठमाडौँलगायत ठूला सहरमा ढुवानी भइरहेको छ । नेपाल चौपाया खरिद बिक्री सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार बिहीबारसम्म १,३०० भेडाच्याङ्ग्रा काठमाडौँ पठाइएको छ भने थप १,७०० लैजाने तयारी भइरहेको छ ।

श्रेष्ठका अनुसार यस वर्ष तातोपानी र रसुवानाका नाका बन्द भएकाले ठूला सहरमा पुग्ने भेडाच्याङ्ग्राको मुख्य स्रोत मुस्ताङ, जुम्ला र डोल्पा रहेका छन् । मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ नामग्यालबाट ४६५ भेडाच्याङ्ग्रा पैदलै ल्याइएको छ भने डोल्पाको काइके गाउँपालिका–२ का किसान सञ्जय बुढाले २५ दिनको पैदलयात्रा गरेर १६० च्याङ्ग्रा पोखरा बेच्न लगेका छन् ।
मुस्ताङमा आकारअनुसार भेडाच्याङ्ग्रा प्रतिगोटा रु ३२ देखि ३७ हजारमा बिक्री भइरहेको छ । काठमाडौँ पुगेपछि भने जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु १,३०० मा बिक्री हुने अनुमान गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार यस वर्ष मुस्ताङका किसानले पालिएका १२ हजार र डोल्पा–जुम्लाबाट करिब ३ हजार भेडाच्याङ्ग्रा बजारमा आपूर्ति हुने सम्भावना छ ।

हिमाली भेडाच्याङ्ग्राको मासु चाडपर्वमा बढी उपभोग हुने गरेको छ। पाँच वर्ष पुगेका च्याङ्ग्रालाई मासुका लागि उपयुक्त मानिन्छ । मासुसँगै यसको शरीरबाट निस्कने भुवा पश्मिना उद्योगका लागि कच्चा पदार्थका रूपमा प्रयोग हुने भएकाले किसानलाई थप आम्दानी हुने गरेको छ ।

मुस्ताङका किसानले च्याङ्ग्रापालनलाई मुख्य आयस्रोत बनाएका छन् । नामग्यालका किसान तेन्जिङ गुरुङले यसपालि मात्रै ५० भेडाच्याङ्ग्रा बिक्री गरेको बताए । उनका अनुसार पोखरा भेडाच्याङ्ग्राको प्रमुख बजार हो भने म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ र लमजुङमा पनि यसको खपत बढ्दो छ ।

By कृषि पाटी

अरू पढ्नुहोस्